अत्याधिक रक्तस्राव भए पछि हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

बागलुङ, असोज ५ गते । अत्याधिक रक्तस्राव भएपछि बागलुङको गल्कोट नगरपालिका– ११ रिघा की २५ वर्षीया सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रिघाकी गौरी श्रीसलाई बच्च जन्मेपछि निरन्तर रक्तस्राव भएको कारण जोखिम न्युनिकरण गर्न सोमबार विहान हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पु-याइएको हो । श्रीसले सोमबार बिहान १ बजे बच्चालाई जन्म दिनुभएको थियो ।

अत्याधिक रक्तस्रावसँगै ज्वरो र बान्तासमेत भएपछि श्रीसलाई तत्कालै पोखरा रिफर गरिएको रिघा स्वास्थ्य चौकी प्रमुख लक्ष्मी घर्ति श्रीसले जानकारी दिनुभयो । दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो ।

पहाडी जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पु-याउनु पर्ने बाध्यता छ । उच्च रक्तस्राव, दुई/तीन दिनसम्म सुत्केरी बेथाले थलिएका, स्वास्थ्यकर्मीले तोकेको म्याग्द नाघेर पनि सुत्केरी हुन नसकेका र तत्काल सुविधासम्म अस्पतालमा सडक यातायात मार्फत लैजान नसक्ने अवस्थामा ज्यानै जोखिममा परेको महिलाको उद्धार गर्न हेलिकप्टरको प्रयोग हुँदै आएको छ ।