चित्रबहादुर केसीका छाेरा भन्छन्- ‘बुवाकाे लागि पैसा उठाउने बहानामा कोही पनि नफस्नुहाेला’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका छाेराले बुवाकाे नाउँमा पार्टीले पैसा उठाउने खेल खेलेकाे भन्दै आपत्ति जनाएका छन् ।
पूर्व-उपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीमा यतिखेर कोरोना भाइरस पोजेटिभ देखिएकाे र निमोनिया समेत भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत रहेकाे जनाइएकाे छ । राष्ट्रिय जनमोर्चाले अध्यक्ष केसीकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे भन्दै सहयोगका लागि आह्वान गरेको थियाे ।
बुधबार जनमाेर्चाले एक विज्ञप्ती निकाल्दै अध्यक्ष केसीको उपचारका लागि पैसा अभाव भएकाे भन्दै शुभेच्छुक र कार्यकर्ताहरूले उहाँकाे उपचारका लागि सहयाेग गर्न अपिल गरेकाे थियाे । तर खाता नं भने पार्टीकै उपलब्ध गराइएकाे छ । अध्यक्ष केसी छाेरा सचित्र केसीले भने बुवाकाे नाउँमा पार्टीले पैसा उठाउन थालेको भन्दै ‘पैसा उठाउने बहानामा कोही पनि नफस्न’ अनुराेध गरेका छन् ।

नेता केसीका जेठा छोरा सचित्रले बुवाकाे स्वास्थ्य अवस्था पनि गम्भीर नरहेकाे बताएका छन् । जापानमा रहेका सचित्रले फेसबुकमा भनेका छन्, ‘सबै साथीहरुलाई अभिवादन ! बुबा खतरामुक्त हुनुहुन्छ । अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोही पनि नफस्नुहोला ।’

उनले आवश्यक परे पारिवारिक रुपमा नै सूचना जारी गर्ने र त्यसभन्दा अगाडि चित्र बहादुर गम्भीर छन् भनेर प्रचार गरिएको सबै झुटाे रहेकाे पनि बताएका छन् ।

तर पार्टीले भने नेता केसीकाे अवस्था गम्भीर नै रहेकाे र उपचारमा खर्च अभाव भएकाे बताएकाे छ । याे खबर बाहिरिएपछि नेता केसीकाे उपचार खर्च भने सरकारले व्यहाेर्ने निर्णय गरेकाे छ ।