कोभिडप्रति किन कम हुँदै छ डर ?

कोभिड संक्रमण र मृत्युदर निरन्तर बढिरहे पनि आममानिसले यसलाई सामान्य रूपमा लिन थालेको पाइन्छ । लामो समयसम्म घरमै आइसोलेटेड भएर बस्दा जीवनशैली धान्न मुस्किल पर्ने भएकाले पनि अब कोभिडसँगै बाँच्न सिक्नुपर्ने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । तर, कोभिड संक्रमण दिनानुदिन बढिरहँदासमेत महामारीलाई सामान्य रूपले हेर्नुले संक्रमणको जोखिम झन् बढिरहेको विज्ञहरू बताउँछन् ।

कतिपयले कोभिडको मृत्युदरलाई क्यान्सर, अन्य दीर्घरोग र भोकमरीसँग तुलना गर्न थालेको पाइन्छ । सामान्य अवस्थामा पनि महामारीभन्दा मृत्युदर बढी हुने भएकाले यसलाई सामान्य रूपमा लिन थालिएको विज्ञहरूको अनुमान छ । तर, कोभिडका कारण निम्तिएको असामान्य परिस्थितिलाई बेवास्ता नगरीकन संक्रमणबाट जोगिन सावधानी अपनाउँदै सामान्य जीवनशैलीमा फर्किन आवश्यक छ ।

महामारी र यसको क्षतिलाई सामान्य रूपमा लिनुलाई मनोचिकित्सकहरूले भने मानसिक स्वास्थ्यसँग जोडेर हेर्ने गरेका छन् । मनोविद्हरूले यसलाई आममानिसहरूले ठूलो संख्याको प्रभाव महसुस गर्न नसक्नुलाई समस्याका रूपमा व्याख्या गरेका छन् । नेसनल जियोग्राफिकमा सेप्टेम्बरको अन्तिमतिर प्रकाशित एक आर्टिकलमा दिमागले कोभिड संक्रमणको विशाल मृत्युको संख्यालाई किन महसुस गर्न सक्दैन भन्नेबारे व्याख्या गरिएको छ ।

अनुसन्धानका अनुसार मानव मस्तिष्कले ठूलो संख्यामा भएको हानिलाई महसुस गर्न सक्दैन, जति एक वा सामान्य खालको दुर्घटनाबाट उदासीनता र भावना उत्पन्न गराउँछ । दिमागले मान्छेको व्यक्तिगत विवरण, जीवनमा घटेका घटना, मृत्युको अवस्थालाई ध्यान दिन्छ, जसले गर्दा पीडाको भावना महसुस हुन्छ । पीडितको संख्या बढ्दै गएपछि दिमागले सजिलै समेट्न सक्दैन र सहानुभूतिको स्तर कम हुँदै जान्छ ।

विभिन्न अध्ययनका अनुसार पीडितको संख्या एकभन्दा बढ्दै गएपछि सहानुभूतिको स्तर पनि घट्दै जान्छ । नजिकको व्यक्ति गुमाउँदा अत्यधिक पीडा हुनुको अर्थ पनि सम्बन्धित व्यक्तिबारे अधिक जानकारी हुनु र दिमागमा बढी प्रभाव पार्नुलाई मानिन्छ । अकस्मात् परिवर्तन आउँदा दिमागमा न्युरोन्सहरू बढी सक्रिय हुन्छन्, जुन बिस्तारै सेलाउँदै जान्छन् ।

वास्तवमा न्युरोन्सहरू सूचना आदानप्रदान गर्न सक्रिय रहन्छन् । दुईवटा न्युरोन्स बीचमा खाली ठाउँ वा साइनाप्स भएमा रासायनिक न्युरोट्रान्समिटरले सूचना आदानप्रदान गर्छ । दिमागमा यस्ता हजारौँ स्नायुहरूले काम गरिरहेका हुन्छन् । पीडामा भावना उत्पन्न हुने स्नायुहरू धेरै सक्रिय भएमा डिसेन्सिटाजेसन नामक प्रक्रिया सुरु हुन्छ, जसले स्नायुहरू बिस्तारै कम सक्रिय हुँदै जान्छन् ।

सन् २०२० मा साइन्टिफिक रिपोर्ट नामक जर्नलले प्रकाशित गरेको अध्ययनमा, मानव मस्तिष्कमा सहानुभूति उत्पन्न गर्ने स्नायुहरूको सञ्जालबीचको प्रिफ्रन्टल कोर्टेक्स, सिङ्गुलेट कोर्टेक्स र विलाटेरल इन्टेरियर इन्सुला मिलेर बनेको हुन्छ । जसले अर्को व्यक्तिको बारेमा हुने विचारहरूको आधारमा भावनात्मक सहानुभूति उत्पन्न गराउँछ । जसलाई विभिन्न वैज्ञानिकहरूले फरकफरक ढंगबाट पुष्टि गरेको पाइन्छ ।

महामारीमा विश्वभर लाखौँ व्यक्तिको मृत्यु हुँदासमेत मानिसले यसलाई सामान्य रूपले लिनुलाई मृत्युदरप्रतिको सहानुभूतिमा कमी आइरहेको देखाउँछ । आममानिसमा कोभिडको डर, त्रास घट्दै जानु र बढ्दो मृत्युदरलाई बेवास्ता गर्नु मानव मस्तिष्कको प्रक्रियाअनुसार सामान्य मानिए पनि महामारीलाई बेवास्ता गर्दा संक्रमणको जोखिम झन् बढ्ने अनुमान गरिन्छ ।

एजेन्सीको सहयोगमा