काठमाडौंमा घडेरीमा लगानी– यी हुन् राम्रो नाफा दिने मुख्य क्षेत्रहरु

यदि तपाइ घरजग्गामा प्रतिफलको आश गरेर लगानी गरिरहनुभएको छ भने तपाइको पहिलो प्रश्न हुन्छ–कहाँ छ सबैभन्दा धेरै प्रतिफल ? नेपालको रियलस्टेट सेक्टरमा यसको एक टुक जवाफ त छैन तर अधिकांश लगानीकर्ताको सुझाव हुन्छ– टुक्रा जग्गा अर्थात् घडेरीमा लगानी ।

आम मध्यमवर्गीय उपभोक्ताको सवैभन्दा धेरै माग टुक्रा घडेरी नै हुने गर्छ । किनकी हाम्रो समाजले शहरमा चार आनामा घर बनाउनुलाई मध्यमवर्गीय परिवारको सम्बृद्धिको सूचक मान्छ ।
दुई चार पैसा बचत गरेर शहरमा चार आना घडेरी किन्नु र घर बनाउनका लागि थप बचतको गृहकार्य गर्नु आम नेपालीको नियति नै हो । घर वा अपार्टमेन्टभन्दा ज्यादा माग टुक्रा जग्गाकै हुनुको कारण नै घडेरीमा गरिने लगानीमा ज्यादा प्रतिफल हुन्छ ।

तर, जहाँ जस्तो घडेरीमा लगानी गरेपनि उच्च प्रतिफल पाइन्छ भन्ने हुँदैन् । कुनै कुनै स्थानमा घडेरीको मूल्यको बृद्धिदर निकै सुस्त हुन्छ । कहिलेकाहीँ यस्ता जग्गामा घाटा खाने सम्भावना पनि हुन्छ ।

त्यसैले हामीले यहाँहरुलाई काठमाण्डौंका यस्ता ठाउँहरुको जानकारी दिँदै छौं जहाँ टुक्रा घडेरीको मूल्य तुलनात्मकरुपमा सस्तो छ, पूर्वाधार विकाश हुने क्रममा छन् । र, केही बर्षमा यी ठाउँको मूल्य बढने निश्चित ।

काठमाण्डौमा घरजग्गाको कारोबार गरिरहेका करिव दुई दर्जन संस्थागत एजेन्सीहरुसँगको कुराकानीका आधारमा हामीले यस्ता हटस्पट लोकेशनको बिबरण तयार पारेका छौं । अहिले घडेरी किनेर एक डेढ बर्ष होल्ड गर्न सक्ने सार्मथ्य छ भने यस्तो लगानी तपाइका लागि ज्यादा फलदायी हुन सक्छ । किनकी यतिबेला बैंकहरुले प्रवाह गर्ने ऋणको ब्याजदर पनि कम छ ।

१) दहचोक, चन्द्रागिरी

चन्द्रागिरी नगरपालिकाको दहचोकमा अहिले धमाधम सुरुङमार्ग बनाउने काम भइरहेको छ । अबको केही वर्षभित्र काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका पृथ्वी राजमार्गको धार्केदेखि दहचोकसम्म सुरुङबाट यात्रा गर्न सकिने छ ।

सुरुङमार्ग निर्माण सुरु गरेपछि दहचोकमा जग्गाको कारोबार पनि उछालिएको छ । अझै पनि दहचोकको भित्रपट्टी आनाको १२ लाखदेखि २० लाख रुपैयाँसम्म टुक्रा जग्गा खरिद गर्न सकिन्छ । दिन दुईगुना रात चौगुनाका दरले बढिरहेको जग्गाको भाउ सुरुङमार्ग निर्माण सम्पन्न हुँदा चुलिमा पुगिसक्ने बुद्धम रियलस्टेटका सञ्चालक रमेश खनाल बताउँछन् ।

मुख्य सडकको छेउछाउमा २० देखि २२ लाखसम्ममा जग्गा किनबेच भइरहेको छ । माथि पाखोतिर लाग्यो भने अझै पनि ९ देखि १५ लाखसम्मका जग्गा भेट्याउन सकिन्छ । सुरुङमार्ग बनेपछि पाखोका जग्गाको मूल्य पनि बढने हुँदा किनेर होल्ड गर्न उपयुक्त रहेको खनाल बताउँछन् ।

२) गोदामचौर, चन्द्रागिरी

चन्द्रागिरी डाँडामा केवलकार बनेपछि थानकोटको गोदामचौर र आसपासको क्षेत्रमा चहल पहल बढेको छ । यो परियोजनाले रियलस्टेटको कारोबार पनि गरमागरम बनेको छ । यहाँ जग्गाको मूल्य बढिसकेको छ तैपनि अझै केवलकारको बेस स्टेसन आसपासमा १३ देखि २० फिटको पिच बाटोमै आनाको १३ देखि १८ लाखसम्म जग्गा किन्न पाइने बुद्धम रियलस्टेटका सञ्चालक खनाल बताउँछन् ।

यो ठाउँमा व्यवसायिक क्रियाकलापदेखि वस्ती विकास हुँदै गइरहेको छ । उपत्यकाको घुम्न जाने प्रमुख गन्तव्यहरुमा चन्द्रागिरी पहिलो नम्बरमा पर्छ । यसैले पनि यहाँको जग्गाको मूल्य अझै आकासिने स्थानीय बताउँछन् । खनाल भन्छन्, ‘यो क्षेत्रमा जग्गामा लगानी गर्दा भोली राम्रो नाफा लिएर बिक्री गर्न सकिन्छ, अथवा आफुले केही बिजनेश व्यवसाय गर्ने सम्भवना पनि रहन सक्छ ।’

३) मातातिर्थ, चन्द्रागिरी

मातातिर्थ र आसपासको क्षेत्रमा अझै पनि सस्तो जग्गा भेट्याउन सकिन्छ । काठमाडौं उपत्यका छर्लङ्ग देखिने यो ठाउँमा ७ देखि १२ लाखसम्मका मिलेका टुक्रा जग्गा पाउन सकिने स्थानीय बताउँछन् । पानीको राम्रो प्रबन्ध भएको यस ठाउँमा टुक्रा जग्गामा लगानी गर्दा पछि पछुताउनु नपर्ने उनीहरु बताउँछन् । यो ठाउँमा पछिल्लो समय वस्ती विकास तिब्र गतिमा भइरहेको छ ।

४) किर्तिपुर

वस्ती तिब्र रुपमा बढेका ठाउँहरुमध्ये किर्तिपुर पनि एक हो । यो ठाउँमा बस्ती बढ्न थालेपछि जग्गाको मूल्य पछि उछालिइरहेको छ । किर्तिपुरको जंगलसँग सटेको ठाउँमा अझै पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाउन सकिन्छ । दक्षिणकालीमा पनि ६ देखि १२ लाखसम्म मिलेका जग्गा किन्न सकिन्छ । टुक्रा जग्गामा लगानी गरेर प्रतिफल लिनका लागि किर्तिपुर र दक्षिणकाली क्षेत्र उपयुक्त हुन सक्छन् ।

५) साङ्ला र काभ्रेस्थली, ताराकेश्वर

तारकेश्वर नगरपालिकाको उत्तरी भेगमा पर्ने साङ्ला र माथिल्लो काभ्रेस्थलीमा जग्गामा लगानी गर्न उपयुक्त रहेको स्थानीय जग्गा व्यवसायी पुष्कर कार्की बताउँछन् । सेसमतिबाट लामाबगर, जरङ्खु हुँदै शान्तिधाम जाने बाटो ढलान भइरहेको छ । यो ठाउँमा १३ फिटको बाटोमा १३÷१४ लाखमै टुक्रा जग्गा भेट्याउन सकिन्छ ।

माथिल्लो काभ्रेस्थलीको माथिल्लो भेगतिर अझै आनाको ८÷९ लाख चलिरहेको छ । त्यहाँ पनि जग्गाको माग अत्यन्तै बढिरहेको स्थानीय बताउँछन् । त्यहाँ पानीको पनि राम्रो सुविधा भएकोले आवासीय प्रयोजनका लागि जग्गा खोज्नेहरुको प्राथमिकतामा पर्छ ।

६) जहरसिंह पौवा, शंखरापुर

टुक्रा जग्गामा लगानी गरेर प्रतिफल प्राप्त गर्नका लागि जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङलेभारे लगायत ठाउँ उपयुक्त हुन सक्छन् । यो ठाउँमा अझै पनि भित्रपट्टी आनाको १० लाखभन्दा कम मूल्यका जग्गा पाइन्छन् ।

७) टोखा, झोर

पछिल्लो समय सर्वाधिक आवास बढिरहेको टोखा क्षेत्र पनि हो । यो ठाउँमा सुरुङमार्ग र चीनबाट आउने रेलको स्टेसन बन्ने भनिएका कारण जग्गाको कारोबार पनि उछालिएको छ । यो ठाउँमा १० लाखदेखि २५ लाखसम्मका टुक्रा जग्गा भेट्याउन सक्छ । बुढानिलकण्ठ क्षेत्रको बसोबास विस्तारै टोखातिर सर्दै आइरहेको र ठूला विकासे परियोजना पनि बन्न लागेको हुनाले यो क्षेत्र टुक्रा जग्गामा लगानीका लागि उपयुक्त हुन सक्छ । पछि यो क्षेत्र बुढानिलकण्ठजस्तै भिआईपी बसोबास गर्ने केन्द्र बन्ने सम्भवना पनि छ ।

८) बुढानिलकण्ठ

तुलनात्मक रुपमा बुढानिलकण्ठ महंगो छ । तर, यहाँ भीआईपी बर्गको बसोबास गर्ने केन्द्र हो । यहाँ टुक्रा जग्गा लिएर राख्न सकेमा पछि महंगो मूल्यमा बिक्री गर्न सकिने सम्भावना हुन्छ । यो ठाउँमा नजिकै शिवपुरी राष्ट्रिय निकुञ्ज, बुढानिलकण्ठ मन्दिर, बुढानिलकण्ठ स्कुल लगायत आकर्षण रहेका छन् । रियलस्टेट एजेन्सीहरुका अनुसार मुलुकका हाईप्रोफाइलको रोजाईमा पर्ने यो क्षेत्रमा ८ आनादेखि १ रोपनीसम्मका टुक्रा जग्गामा लगानी गर्न सक्दा राम्रो प्रतिफल पाउन सकिन्छ ।

९) जितपुर, सुडाल आसपास

पछिल्लो समय भक्तपुरबाट नगरकोट जानका लागि नयाँ बाटो खुलेको छ । कमलबिनायकबाट नयाँ बाटो हुँदै नगरकोतर्फ लाग्ने सडकको दायाँबायाँ जग्गाको कारोबार उछालिएको छ । अझै पनि ठूलो जग्गा उठाउँदा पिच सडकमै आनाको १५ लाख रुपैयाँमा किन्न पाइन्छ । नगरकोट जाने मुख्य सडक भएको हुँदा भोलि ब्यापारिक प्रयोजन वा आवासीय प्रयोजनका लागि यो क्षेत्र उपभोक्ताको रोजाईमा पर्न सक्छ । खासगरी भक्तपुर र काभ्रेका पूर्वी जिल्लाहरुका बासिन्दाहरुका लागि भक्तपुर क्षेत्रको बसाई पहिलो रोजाईमा पर्ने गरेको छ ।

जीतपुर हनुमानचोक आसपासको भित्री बाटोमा टुक्रा जग्गाहरु आनाको १२ देखि १४ लाख रुपैयाँसम्ममा पाइन्छन् । नगरकोट जाने–आउने बढेको हुनाले कमर्शियल रियलस्टेटको आकर्षण बढेको र तिब्र गतिमा वस्ती पनि विकास भइरहेको हुनाले अहिले लगानी गर्दा भोली प्रतिफल पाउन सकिने स्थानीय जग्गा व्यवसायी श्रीराम भण्डारी बताउँछन् ।

१०) नयाँपाटी, सुन्दरीजल जाने बाटो

यो ठाउँमा १३ देखि १६ फिटसम्मको सडकमा प्रतिआना १८ देखि २० लाखसम्मका टुक्रा जग्गा किन्न सकिन्छ । अलिकति भित्री बाटोतिर लाग्दा आनाको १४/१५ लाखमै पनि जग्गा किन्न पाइन्छ । गोकर्णेश्वर नगरपालिकामा पर्ने यो ठाउँमा पानीको राम्रो सुविधा छ । बसोबास गर्नका लागि हावा पानी पनि राम्रो छ । यातायातको सुविधा राम्रो छ । सरकारले बनाउने स्मार्ट सिटीमा पनि यो क्षेत्र पर्ने हुनाले जग्गा किनबेच ह्वात्तै बढेको छ । यो ठाउँमा लगानी गर्दा एक दुई बर्षमै उच्च प्रतिफलमा घडेरी बेच्न सकिन्छ ।

११) बडीखेल, गोदावरी

यो ठाउँमा तुलनात्मकरुपमा जग्गा सस्तो पाउने हुनाले लगानीकर्ता केन्द्रीत छन् । यहाँ १६ देखि २० फुटे बाटोमा १८ देखि २० लाख रुपैयाँसम्मका टुक्रा जग्गा किन्न पाइन्छन् । बडीखेलको तल्लो भागमा आनाको १८÷२० लाखमा र माथिल्लो बडिखेलतिर ७ लाखदेखि जग्गाको मूल्य सुरु हुन्छ ।

वरिपरि बस्ती बसिसकेको हुनाले जग्गाको कारोबार उच्च रहेको जग्गाजमिन प्रालिका सञ्चालक सुवास पाठकले बताए । हरियाली ठाउँ, हिमाल देखिने, शान्त र रमणिय भएको हुनाले गोदावरी क्षेत्र बसोबासका लागि उत्कृष्त ठाउँ मानिन्छ । यदि तपाइसँग दुई तीन बर्ष होल्ड गर्ने सामथ्र्य छ भने यो क्षेत्रमा गरिने लगानीमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

१२) डोलेश्वर, भक्तपुर

भक्तपुरमा तुलनात्मकरुपमा कम बस्ती बसेको ठाउँ हो– सूर्यबिनायक डोलेश्वर क्षेत्र । डोलेश्वर महादेवको मन्दिरमा बिगत ५–७ बर्षयता धेरै तीर्थयात्रीको चाप बढन थालेको र जंगलको नजिक खुला स्थानमा ठूला प्लटहरु पाइने भएका कारण यहाँ जग्गाको कारोबार उछालिएको हो । अहिले यो ठाउँमा १० लाखभन्दा कम मूल्यका जग्गा भेट्याउन सकिन्छ ।

१३) साँगा, भक्तपुर

भक्तपुर र काभ्रेको सिमाना साँगातिर भित्रपट्टी गयो भने ८ देखि २० लाखसम्मका जग्गा भेटिन्छन् । यो ठाउँ पनि टुक्रा जग्गामा लगानी गर्नका लागि राम्रो सम्भवना भएको ठाउँ हो । काटेश्वर–सूर्य बिनायक ८ लेनको सडक बनेका कारण साँगा क्षेत्रमै बसेर पनि काठमाण्डौमा दैनिक आउजाउ गर्न कठिनाई हुँदैन । यही कारण पछिल्ला बर्षहरुमा सस्तो मूल्यका जग्गा खोज्ने उपभोक्ताहरु साँगा क्षेत्रतिर जान थालेका छन् ।

१४) चापागाउँ, ललितपुर

चापागाउँ बसपार्कबाट १ किलोमिटर दुरीमा रहेको मुलडोल, लेले आसपासको ठाउँमा पनि घडेरीमा गरिने लगानीको उच्च प्रतिफल आउने बालकुमार लेखापढीका बिकी महर्जन बताउँछन् । पछिल्लो समय वस्ती विकास भइरहेको र टुक्रा जग्गा खोज्नेहरुको प्राथमिकतामा पर्न थालेपछि यस क्षेत्रमा पनि जग्गाको मूल्य उछालिन थालेको छ । यो ठाउँमा ८ देखि १५ लाखसम्मका मिलेका टुक्रा जग्गा किन्न सकिन्छ । पछिल्ला दुई तीन बर्षमा यहाँको जग्गाको भाउ झण्डै २५–३० प्रतिशतले बढेको छ । जुन बृद्धिदर आगामी दुई तीन बर्षमा पनि देखिने छ ।

१५) खोकना र द्रूतमार्गको रेखा आसपास

काठमाडौं र तराईलाई जोड्ने द्रुतमार्गको आसपास पनि जग्गाको भाउ उछालिएको छ । काठमाण्डौको खोकना लगायतका क्षेत्रमा द्रूतमार्ग बन्ने तय भएको छ । यो ठाउँमा सडक निर्माण भई सञ्चालनमा आउँदा जग्गाको भाउ चुलिमा पुगिसकेको हुनेछ । अहिले आनाको १० देखि २० लाखसम्म जग्गा किन्न पाइने हुनाले टुक्रा जग्गा किनेर राख्दा फाइदाजनक रहेको रियलस्टेट एजेन्सीहरुको दावी छ ।

१६) दुवाकोट भक्तपुर

बाहिरी चक्रपथको हल्ला र बीर अस्पताल वन्ने चर्चासँगै भक्तपुर दुवाकोटमा जग्गाको मूल्य उच्च गतिमा बढिरहेकोछ । तीन बर्ष अगाडीसम्म आनाको १० लाख रुपैयाँसम्ममा जग्गा पाइने यो स्थानमा अहिले आनाकै २० लाख पुगिसकेको छ । बीर अस्पताल, गिरिजाप्रसाद स्मृति पार्क र बाहिरी चक्रपथ निर्माण हुने भएपछि यहाँ जग्गाको मूल्य दिनप्रतिदिन उकासिँदै गइरहेको स्थानीयबासी बताउँछन् । यो क्षेत्रमा १५ देखि २० लाख रुपैयाँ प्रतिआना पर्ने घडेरीमा लगानी गर्दा आगामी दुई तीन बर्ष होल्ड गर्न सक्ने राम्रो प्रतिफल पाउन सकिन्छ ।