चालक अनुमतिपत्रका लागि तत्काल परीक्षा नलिइने

काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमति पत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुना स्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो ।

सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन। सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखो लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।”

सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असार दखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिले सम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो । दशैँ–तिहारपछि सेवाग्राहीको चाप कम भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अनुमतिपत्र खोल्ने कहिले भन्ने धेरै सेवाग्राहीको चासो रहेको छ। उहाँले भन्नुभयो “कतिले फोन गरेर र कतिले कार्यालयमा आएर कहिले अनुमतिपत्र खुल्छ भनेर सोध्ने गर्नुहुन्छ।” प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरे पछि मात्रै नयाँ अनुमतिपत्र खुल्ने छ । उपत्यकामा रहेका धेरै ड्राइभिङ प्रशिक्षण केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्न लागेको भन्दै सेवा ग्राहीलाई सिकाइरहेका छन। तिहार लगत्तै उपत्यकाका धेरै केन्द्रमा सिक्नेको भीड देख्न सकिन्छ ।