अब म फर्किने समय आएको महशुस भयो : पुर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ। पुर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहे शासन सत्ता आफ्नो हातमा लिने जनाउ दिनु भएको छ। फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई बक्सेकाे विशेष सन्देश भन्दै भाइरल भइरहेको विज्ञप्तीमा शाहले ‘देशले मागेको सहयोग’ गर्न सम्पूर्ण देशवासीलाई अपिल गर्नु भएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा सबै मित्र, सहयोगी तथा शुभचिन्तकहरुलाई आफ्ना व्यक्तिगत तुष्टी पूर्वाग्रह र अनावश्यक शंका र उपशंका गर्न बाट टाढा नै रही ‘देशले मागेको सहयोग गर्न’ म सबैमा विनम्रता पुर्वक अनुरोध गर्दछु।’

शाहले अहिले सम्पूर्ण नेपालीमा देशभक्ति प्रदर्शन गर्ने चुनौती आएको बताउनु भएको छ। ‘केहि प्रश्नहरु भए तपाईहरुले छातीमा हात राखेर आफ्नो मनलाई सोध्ने, र अरुका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नो निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेको छ। अब तपाईहरु समक्ष आफ्नो देश भक्ति प्रदर्शन गर्न चुनौती आएको छ।’

शाहले आफ्नो आफ्नो ठाउँबाट राजसंस्थालाई आफ्नो सामर्थ्य अनुसारको समर्थन गर्न पनि आह्वान गर्नु भएको छ। विज्ञप्तीमा भनिएको छ, ‘आ-आफ्नो सामर्थ्य र गच्छे अनुसार जे जस्तो तरिकाले भए पनि आफ्नो अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरुले आम जनसमुदायको आकांक्षालाई सफलीभूत पार्न जनताले चलिरहेको कदमलाई साथ दिनु हुनेछ भन्ने कुरामा दृण विश्वस्त छु।’

शाहले यो आह्वानलाई अन्यथा नलिन पनि आग्रह गर्नु भएको छ। ‘कृपया, यो आह्वानलाई तपाईहरुले आफ्नो मातृभूमिको पुकार सम्झिनु होला। जय देश!’फेसबुकमा भाइरल भइरहेको उक्त विज्ञप्तीको आधिकारिकता बारे बुझ्न खोज्दा सम्बद्धहरुलाई सम्पर्क गर्न भने सकिएन।(एनपर्दाबाट)