प्रचण्ड निकट २ जना सांसद ओली समूहमा

१५ पुस, जनकपुरधाम । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद पनि ओली समूहमा लागेका हुन् । ओली समूहले बीरगंजमा आयोजना गरेको प्रदेश भेलामा निकट रहेका प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वाला कुमारी साह पुगेर भाषण गरे ।

‘नेकपाले आयोजना गरेको भेलामा सहभागिता जनाएकी छु,’ बाराको क्षेत्र नम्बर ३ (क) बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित ज्वाला साहले भनिन्,’ प्रचण्डजीलाई धेरै सुझाव दिएकी थिएँ । तर, उहाँले एउटा पनि सुझावको पालना गर्नुभएन् । त्यहीँ भएर केपी ओलीजीतर्फ आएकी छु ।’

उनीसँगै ओली समूहको भेलामा देखापरेका तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले पनि प्रचण्ड सत्ता स्वार्थमा रुमलिएकाले ओलीतिर लागेको प्रतिकृया दिए।उनले तत्कालीन माओवादीका अन्य सांसदहरु पनि ओली समूहमै आउने दाबी गरे । र, त्यसका लागि छलफल भैरहेको ज्वाला र मण्डलले बताएका छन् ।

अब के होला समीकरण ?

प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र तत्कालीन माओवादीका ११ जना गरी प्रदेश सभामा नेकपाका ३२ सांसद छन् । यो सिट लिएर नेकपा प्रदेशको प्रमुख प्रतिपक्ष छ । तर नेकपा विभाजन भएसँगै प्रदेश सांसद ओहोरदोहोर गर्ने क्रम जारी छ । सांसद ज्वाला सिंहले भने झैं ६ जना सांसद केपी ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ । प्रचण्ड-माधव समूहको सांसदको संख्या १३ हुनेछ । यद्यपि नेताहरुले अझै ओहोरदोहोर गर्ने क्रम जारी भएकोले अहिले नै प्रदेश २ को समीकरण अनुमान गर्न सकिँदैन ।