जब खुमलटार पुगेर विप्लवपुत्र प्रकाशले ‘सीता आमा’लाई अंगालो हाले…

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ (पीएसपी) रोगबाट पीडित दाहाललाई उपचारका लागि मुम्बई लैजानुअघि नेपालमा अर्धभूमिगत राजनीति गरिरहेको ‘नेपाल कम्युनिस्ट पार्टी’का महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले भेटेका छन् ।

प्रकाश डाक्टर समेत हुन् । बुवाको राजनीतिक विरासतबाट माथि उठेका उनी युवाहरू माझ लोकप्रिय छन् । चितवन मेडिकल कलेजमा मेडिकल विद्यार्थीहरूको चर्चित आन्दोलनको नेतृत्व गरेदेखि नै प्रकाश सबैको नजरमा परेका थिए ।

१६ वर्षपछिको भेटमा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको खुमलटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रकाशले सीता दाहाललाई आमा भनेरै सम्बोधन गरेका थिए ।

सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुगेका थिए । प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको हो । नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लडेका थिए । शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका चन्दले हाल आफ्नै नेतृत्वमा अर्धभूमिगत राजनीति गर्दै आएका छन् ।