नेपाल र भारतबीच दाजुभाइकाे जस्ताे सम्बन्ध छ, शत्रुता कल्पना पनि गर्न सकिन्‍न : भारतीय रक्षामन्त्री

नयाँदिल्ली, ६ माघ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सम्बन्ध अटुट रहेकाे भन्दै नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने कुरा रहेकाे बताएका छन्  । त्यहाँकाे टेलिभिजन च्यानल ‘आजतक’मा आइतबार एक अन्तर्वार्ता दिँदै उनले नेपाल-भारत सम्बन्ध दाजुभाइको जस्ताे रहेकाे बताएका हुन् ।

उनले कहिलेकाहीँ दाजुभाइमा अविश्वास सिर्जना हुन सक्ने भन्दै त्यसलाई बातचितबाट समाधान गर्न सकिने तर स्थायी शत्रुता कल्पनासम्म गर्न नसकिने धारणा उक्त टेलिभिजनमार्फत दिएका हुन् । राजनीतिक रूपमा सम्बन्ध उतारचढावपूर्ण भए पनि जनस्तरमा भने सदियाैँदेखि दुवै देशबीच प्रगाढ सम्बन्ध रहेकाे उनकाे भनाइ थियाे ।

‘नेपालसँग हाम्राे धेरै पुरानाे प्रगाढ सांस्कृतिक सम्बन्ध छ,’ उनले भनेका छन्, ‘नेपाल केवल हाम्रो छिमेकी मात्र हैन, भाइ पनि हो । दाजुभाइमा कहिलेकाहीँ अविश्वास हाेला, नेपालले हाम्रो बारे जेजस्ता टिप्पणी गरे पनि म त्यस्ताे प्रतिकूल टिप्पणी गर्न सक्दिनँ ।’ सिंहले दुवै देशबीच समस्या भए संवादबाटै समाधान निकाल्न सकिने समेत बताए ।

गत साता मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गरी फर्केका छन् । साे क्रममा मन्त्री ज्ञवालीले त्यहाँका रक्षामनत्री सिंह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे पनि प्रधानमन्त्री नरेन्द्र माेदीसँग भने सामान्य शिष्टाचार भेट पनि हुन सकेन । दिल्लीमा रहँदा मन्त्री ज्ञवालीकाे टाेलीले प्रधानमन्त्री मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट्ने प्रयास गरे पनि मोदीले भेट नदिएको भन्दै नेपालमा चर्को अालाेचना भइरहेकाे छ ।