धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे

भरतपुर महानगरपालिका-१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ। डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’।

रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता नै सम्पन्न गरिएको थियो।
झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि आकार लिइसकेको देखिन्छ। यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रंगशाला तयार भइसक्ने दाबी धुर्मुस-सुन्तलीको छ।

उनीहरूलाई बढ्दो आर्थिक समस्याले रंगशाला निर्माणमा समस्या आउने हो कि भन्ने चिन्ताले सताएको छ। अहिलेसम्म रंगशालाको मैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ। बाँकी काम २०० ट्रिपर पाँगो माटोको अभावमा ६ महिनादेखि रोकिएको छ। धुर्मुसकाअनुसार पाँगो माटो उपलब्ध भए केही दिनमै मैदानको काम सकिन्छ।

आकार लिइसकेको रंगशालाको मध्यभागमा नेपालको राष्ट्रिय झन्डा फहराउन थालेको हप्तौं भइसक्यो। मैदानबाहेकको काम पनि ३० प्रतिशत सकिएको परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए।

स्ट्यान्ड ए र बी दुबै प्याराफिटको जग तयार भइ प्लिन्थ बिमको काम सम्पन्न भइसकेको छ, २८६ वटा पिल्लर उठिरहेको छ। साउन १ बाट सुरू भएको पिलर निर्माणको काम ६ महिनाको अवधिमा यो अवस्थामा पुगेको देवकोटाले बताए।

पुस मसान्तसम्ममा रंगशालाले ३८ करोड ५४ लाख ९७ हजार १५५ रुपैयाँ खर्च गरिसकेको छ। तर अहिलेसम्मको आम्दानी भने करिब ३१ करोड रुपैयाँमात्रै छ। पछिल्ला दिनको पनि हिसाब गर्दा रंगशालाको आम्दानीभन्दा ८ करोड रुपैयाँ बढी खर्च भएको देखिन्छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा रंगशाला निर्माणका लागि ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने उल्लेख छ।

‘रंगशाला निर्माणको गति नघटोस् भनेर हामीले महिनौंदेखि उधारोमा सामान ल्याएर काम अघि बढाइरहेका छौं,’ धुर्मुसले भने, ‘सहयोगको क्रम अपेक्षाकृत रूपमा बढ्न सकेन, उधारो बढेको बढ्यै छ।’ त्यसो त रंगशालाका लागि बोलकबोल भएर पनि उठ्न नसकेको रकम हालसम्मको कुल खर्च रकमभन्दा करिब दोब्बरले बढी छ।

‘रंगशाला निर्माणका लागि सहयोग घोषणा गर्नेलाई हरेक दिनजसो फोन गरेर सम्झाउने गरेको छौं,’ फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिना भन्छन्, ‘तर उहाँहरू आफ्ना समस्या सुनाउनुहुन्छ, केही समय पर्खनु भन्नुहुन्छ। त्यसो भनेको पनि वर्ष बित्न लागिसक्यो।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत वर्षको माघ १९ देखि २६ गतेसम्म धनधान्याचल महोत्सव आयोजना गरिएको थियो। प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा जिल्लाका सरोकारवाला सहभागी रहेको मूल समितिले महोत्सव आयोजना गरेको थियो।

यसबाट ६९ करोड रुपैयाँ बोलकबोल भएको घोषणा गरिएको थियो। तर उक्त रकमको करिब १५ प्रतिशतमात्रै रंगशालालाई प्राप्त भएको छ। पुस मसान्तसम्ममा नगदै संकलन भएको ८ करोड ८१ लाख ९३ हजार ३४७ रुपैयाँ र जिन्सी सहयोगलाई नगदमा रूपान्तरण गरिएको एक करोड ३ लाख २३ हजार ६२८ रुपैयाँ मात्रै प्राप्त भएको तिमिल्सिना बताउँछन्।

महोत्सवमा नेपाल सरकारका विभिन्न निकायले ५१ करोड १२ लाख ३० हजार ८३२ रुपैयाँ सहयोग घोषणा गरेका थिए। तिमिल्सिनाकाअनुसार त्यसमध्ये करिब २५ लाख रुपैयाँमात्रै प्राप्त भएको छ।

धान्याचलमा बागमती प्रदेश सकारले ३० करोड रुपैयाँ सहयोग घोषणा गरेकोमा अहिलेसम्म एक रुपैयाँ पनि सहयोग गरेको छैन। बागमती सरकारले अहिलेसम्म रंगशालाका लागि विनियोजित बजेटबाट ३ करोड रुपैयाँ सहयोग गरेको छ। तर त्यो रकम धान्याचलमा बोलेकोभन्दा फरक रहेको रंगशाला स्रोत बताउँछ। प्रदेशले धनधान्यचल उल्लेख नगरी २०७७ भदौ ३१ गतेको निर्णयअनुसार आर्थिक सहायता अनुदान स्वरूप भनेर उक्त रकम उपलब्ध गराएको छ।

त्यसैगरी धान्याचल समितिले प्रकाशन गरेको स्मारिकामा भरतपुर महानगरपालिकाले महोत्सवमा १६ करोड ७५ लाख रुपैयाँ बोलकबोल गरेको छ। उसले अहिलेसम्म विनियोजित बजेटबाट ८ करोड रुपैयाँ सहयोग गरेको छ। यसमध्ये ४ करोड रुपैयाँ दिँदा धनधान्याचलको कुरा उल्लेख नगरी २०७७ कात्तिक २ गतेको निर्णयअनुसार एकमुष्ट अनुदान उपलब्ध गराइएको भनिएको छ। उक्त रकम महानगरले ५० लाख, १ करोड ५० लाख र २ करोड गरी तीन किस्तामा उपलब्ध गराएको थियो। महानगरले केही दिनअघि पारित गरेको पूरक बजेटमार्फत रंगशालालाई थप ४ करोड रुपैयाँ उपलब्ध गराएको छ।

धान्याचल महायज्ञका महासचिव दिनेशकुमार चुके भने प्रदेश सरकार र महानगरबाट प्राप्त भएको रकमलाई पनि महायज्ञबाटै उठेको रकममा समावेश गर्नुपर्ने बताउँछन्। सेतो पाटीबाट साभार