प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै सम्भावना छैन : महासचिव पौडेल

काठमाडौं । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्ध भन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्ट पार्नुभएको छ । आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव यस्तो तथ्य राख्नुभएको हो ।

अर्थमन्त्रीसमेत रहनुभएका महासचिव पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यास भएपछि प्रथम अध्यक्ष तथा प्रधानमन्त्री संसद बिघटन गर्न बाध्य हुनुभएको बताउनु भयो । सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका काम गरिरहँदा ती कामलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टीभित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रयास भएको पनि महासचिव पौडेलले जानकारी दिनुभयो ।

सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधिसभा विघटन गरी अनुशासित प्रतिनिधिसभा निर्माण गर्न चुनावमा जानुपरेको उहाँको भनाइ थियो । ‘अझै पनि केही मानिस प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि भन्ने भ्रमले छातीमा पोस्टर टासेर सडकमा बसिरहेका छन,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै सम्भावना छैन, कोही भ्रममा नपर्नाेस ।’