सरकारले कोरोना विरूद्धको खोपका लागि अग्रिम पैसा पठाउने

सरकारले कोरोना विरूद्धको खोपका लागि अग्रिम पैसा पठाउने भएको छ।

मंगलबार बसेको मन्त्रपरिषद बैठकले सेरम इन्सटिच्यूटसँग किन्न लागेको कोरोना खोपका लागि अग्रिम रकम पठाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सेतोपाटीलाई जानकारी दिए।

सरकारले यसअघि सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरिसकेको थियो।

प्रति खोपको ४ डलरका दरले राष्ट्र बैकमार्फत पैसा पठाउने र सेरमले काठमाडौंस्थित एयरपोर्टसम्म ल्याइदिने सहमति समेत भइसकेको मन्त्री त्रिपाठीले बताए।

अब ल्याउने २० लाख डोज १० लाखलाई पुग्ने र त्यो खोप जेष्ठ नागरिकलाई लगाउने उनले बताए।

उनले खोप निःशुल्क दिइने समेत जानकारी दिए।

अरु प्रक्रियाबाट खोप किन्दा समय लाग्ने र थप जटिलता हुने भएकाले स्वास्थ्य सेवा विभागले सोझै खरिद गर्न लागेकोसमेत उनले बताए।