अमेरिकामा हिमआँधी कम्तीमा २३ को मृत्यु, जनजीवन नराम्ररी प्रभावित

अमेरिकामा हिमआँधीले मच्चाएको वितण्डाका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

हिमआँधीले जनजीवन अस्तव्यस्त बनाएपछि टेक्सास राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले ठूलो धनजनको क्षति गरेको हो । हिमआँधीपछि टेक्सास राज्यका लाखौं सर्वसाधारण विद्युत सेवाबाट बञ्चित हुन पुगेका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ । यसको असर आइतबारसम्म रहने बताइएको छ ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तीमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ ।

बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् । इन्टरनेटको पहुँचबाट पनि सर्वसाधारण विमुख बनेका छन् । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । सुपर मार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ । केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् ।

चिसो मौसम र तीव्र हावाले मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो । माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका छन् । ग्यास फायर पावर प्लान्टले पनि काम गर्न छोडेका छन् ।

हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ । त्यहाँका विभिन्न राज्यहरूमा पनि विद्युत सेवा अवरूद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन् । उनले टेक्सासमा आपतकालको घोषणा गरेका छन् ।