तपाईंको मोबाइलमा पनि शेयरइट एप छ ? हुनसक्छ डेटा चोरी

स्मार्टफोन प्रयोग गर्नेमध्ये धेरैले आफ्नो फोनमा डाउनलोड गर्ने एपमा पर्छ शेयरइट । गुगल प्लेस्टोरबाट मात्रै यो एप १ बिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

विशेष गरी िफाइल, फोटो, भिडियो तथा एपहहरु ट्रान्सफर गर्न शेयरइट उपयोगी मानिन्छ । तर, यसमा भएका केही साइबर सुरक्षा कमजोरीले भने प्रयोगकर्ताका डाटाहरु नै चोरी हुने खतरा रहेको एउटा अध्ययनबाट देखिएको छ ।

साइबर सुरक्षासम्बन्धी सफ्टवेयर निर्माण गर्ने कम्पनी ट्रेन्डमाइक्रोले गरेको अध्ययनका क्रममा शेयरइटमा गम्भीर खालका सुरक्षा कमजोरी रहेका देखिएको हो ।

शेयरइटले प्रयोकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गर्छ । तर, ती सुचनाको सुरक्षाका सम्बन्धमा पर्याप्त सावधानी नअपनाइएको ट्रेन्डमाइक्रोको अध्ययनका क्रममा देखिएको हो ।

अध्ययनका अनुसार ‘ह्याकरहरु’ले शेयरइटमा मालवेयर इन्फेक्टेड कोड प्रयोग गरी डेटा हाइज्याक गर्न सक्ने सम्भावना उच्च छ ।

ट्रेन्डमाइक्रोले शेयरइटमा साइबर सुरक्षाका सम्बन्धमा देखिएका कमजोरीबारे गुगललाई जानकारी गराइएको जनाएको छ ।