अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न नपाउने गरि प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको हो ।

अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ ।

फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ ।

बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन् । यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।

प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि चुनौति पैदा भएको अस्ट्रेलिया सरकारले बताएको छ । समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गरेका छन् । समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाई छ ।

अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन् ।

प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो । त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ ।