चुनाव-चुनाव भनेर नहिँड्न नेताहरूलाई रामचन्द्र पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र तानाशाही प्रवृत्ति भएकोले पार्टीले विरोध गर्नुपर्ने बताएका छन्।

चुनाव-चुनाव भनेर नहिँड्न उनले नेताहरूलाई आग्रह गरेका छन्। लोकतन्त्र र संविधान बचाउन सके मात्रै चुनावको अर्थ रहने पौडेलको भनाइ छ।

आज पोखरामा नेपाल राष्ट्रिय मगर संघ प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीका कदमबारे देशैभरका कांग्रेस कार्यकर्ता र जनताहरू आन्दोलनमा रहेको पनि बताएका छन्।

‘लोकतन्त्र रक्षाका लागि देशैभरका साथीहरू आन्दोलन र र्‍याली गरिरहनुभएको छ। अनि यो पार्टीका नेताहरूले जे मनलाग्यो त्यही बोलेर हिँड्ने?,’ सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले भने।

देउवाले भैरहवामा केही दिनअघि आयोजित कांग्रेस सभामा निर्वाचन आयोगले चुनावी कार्यतालिका ल्याउन ढिलाइ गरेको बताएका थिए।

आज पोखरामा पौडेलअघि बोलेका देउवाले अदालतको निर्णय कुर्नुपर्ने बताएका थिए। आन्दोलनमा जानका लागि पार्टीसँग पैसा नभएको र क्रियाशील सदस्य पनि आन्दोलनमा नआउने अवस्था देखिएको उल्लेख गरेका उनले अदालतको निर्णय कुर्नु उत्तम हुने धारणा राखेका थिए।

अदालतले फैसला गर्दा संविधानमा जे लेखेको छ त्यहीअनुसार गर्नुपर्ने भएकोले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा पौडेल विश्वस्त छन्।

‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ त्यही हुन्छ। कांग्रेस किन डराउने। कांग्रेस किन मुख लुकाउने?,’ उनले भने, ‘कांग्रेसले किन चुनाव चुनाव भन्ने? चुनाव त पञ्चायतमा पनि भएको थियो। संविधान र लोकतन्त्र बचाए पो चुनावको अर्थ हुन्छ।’पाँच वर्षका लागि जनताले कम्युनिष्टलाई म्यान्डेट दिए पनि तीन वर्ष नपुग्दै कम्युनिष्टहरू भागेको आरोप पौडेलको छ।