नेपाली पर्वतारोहीले विश्व रेकर्ड बनाएको केटु हिमाल चडन गएका ३ पाकिस्तानीको मृत्यु

पाकिस्तानको केटु हिमाल आरोहणका क्रममा तीन जना आरोहीको मृत्यु भएको छ।

यसै महिनाको शुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले मृत घोषणा गरिएको हो।

संसारकै सबैभन्दा खतरनाक मानिएको केटू हिमाल आरोहणका क्रममा ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहीन भएका थिए।

खराब मौसम र लगातार हिमपात भइरहेका कारण हराइरहेकाहरुको खोजी कार्यमा समस्या भएको पाकिस्तानी मौसम विभागका अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

उनीहरुले अत्याधिक चिसो मौसम भएकाले लामो समयसम्म कुनै जीव बाँच्न सक्ने अवस्था नरहेकाले हराइरहेकाहरु जिवितै फेला पर्ने सम्भावना नरहेको जनाएका हुन्।

यता ग्याल्टन बालिस्तान प्रान्तका एक मन्त्रीले भने हराइरहेकाहरुको खोजी कार्यलाई जारी राख्नुपर्ने बताएका छन्। ती आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन्।

यसअघि १० जना नेपाली पर्वतारोहीको टोलीले गत माघ ३ गते एकैसाथ केटू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए।

सन् २००८ मा सो हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो।