मोरङबाट ३१ कैदीले पाए आममाफी

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका ३१ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार मोरङबाट ३१ जनाले आममाफी पाएका हुन् ।

जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेका अनुसार कर्तव्य ज्यान, सवारीज्यान, ज्यानमार्ने उद्योगलगायत मुद्दामा कैद भुक्तान गरिरहेका ३१ जनाले आममाफी पाएका हुन् । माफी पाउनेमध्ये बाल सुधारगृहमा रहेका एक जना कैदी पनि छन् ।

मोरङबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका १६ जना, सवारी ज्यान मुद्दाका छ जना, ज्यान मार्ने उद्योगका तीन जना, कुटपिट तथा अङ्ग–भङ्ग मुद्दामा कैद भुक्तान गरिरहेका दुई जनाले आममाफी पाएका छन् ।

त्यस्तै डाँका, चोरी र गौबध मुद्दामा कैद भुक्तान गरिरहेका एक–एक जनाले माफी पाएका छन् । बाल सुधारगृहबाट लापरवाही हत्या र हातहतियार मुद्दामा एक जनाले आममाफी पाएका हुन् ।

सर्वाेच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएका १६ जनाले कैद छुट दिइएको हो । प्रजातन्त्र दिवसको अवसरमा देशभरबाट चार सय १ जनाले आममाफी पाएका छन् ।