नेपाली राजनीतिमा छेपारोले भन्दा छिटो रङ्ग बदल्ने नेता नेपाल हुनुहुन्छ : नेता साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको नेता चन्द्र भुषण साहले माधव कुमार नेपाल जस्तो व्यक्तिलाई नेता मान्नु लोकतन्त्रको उपहास हुने बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साहले माधव कुमार नेपाल छेपारो जस्तै रङ्ग बदल्दै सत्ताका लागि जे पनि गर्न उद्दत रहेकोले उनलाई कोही पनि लोकतन्त्रवादीले नेता मान्न नसक्ने जीकिर गरे ।

“पछिल्लो समय नेपालको राजनीतिमा छेपारोले भन्दा छिट्टो रङ्ग बदल्ने नेताको रुपमा हामी माधव नेपालजीलाई लिन सक्छौं । ईतिहास साक्षी छ, उहाँमा क्षणभरमैं रङ्ग बदल्ने विशेष गुणसंगै पार्टी, देश र जनतालाई नै घात हुनेगरी धोखाधड़ीको किर्तिमान समेत खडा गर्न सक्ने अद्वितीय खुबि छ ।”

नेता साहले भने, “उहाँलाई नेपाली जनताले दुई दुई ठाउँबाट अस्वीकार गर्दा समेत कमरेड प्रचण्डजीको बुई चढी चोर बाटोबाट सांसद हुनुभयो र पछि प्रचण्डजीलाई नै अपदस्त गरी प्रधानमन्त्री बन्नुभयो ।” “प्रधानमन्त्रीको कुर्सीको लागि २०५८ साल जेठ २२ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दाम चढाउन समेत पछि नपरेको व्यक्ति सार्वजनिक रुपमा पश्चातापबोध वा माफी नमाग्दै आफुलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सक्कली नेता हुँ भन्नु भन्दा ठूलो हास्यास्पद विषय के हुन सक्छ ?” नेता साहले थपे । “उहाँमा रतिभर पनि धैर्यता छैन, पार्टीको महाधिवेशनमा पराजित भईसकेपछि कम्तिमा अर्को महाधिवेशनसम्म कुर्नु पर्दैन ?

तर उहाँमा पदलोलुपता र सत्ता मोह यति धेरै हावी छ की, वहाँको कथित अध्यक्ष पद संवैधानिक निकायको रुपमा रहेको निर्वाचन आयोगले पनि अवैध घोषणा गरिसक्दा समेत वहाँमा निर्लज्जतापूर्वक पार्टी अध्यक्ष नै बन्नुपर्ने बालहठ कायम छ ।”

नेता साहले थपे, “यो बालहठ उहाँको लागी समान्य विषय हुन सक्छ तर यो विषय आम नेपालीको जनभावना, विधिको शासन तथा नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनको लागी दुर्भाग्यपूर्ण लज्जाको विषय हो । यो विषय आफैंमा एउटा लोकतन्त्रमाथिको भद्दा मजाक पनि हो ।”