हाम्रो पार्टी फुटिसकेको छैन, म अझै पनि पार्टी एक हुनुपर्छ भन्ने अभियानमा छु : लालबाबु पण्डित

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य लालबाबु पण्डितले पार्टी एकतालाई जोगाउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि नेकपा विभाजना भएको थियो । तर विभाजनले वैधानिकता नपाउँदा पण्डित कुनै समूहमा खुलेका छैनन् ।

सर्वाेच्च अदालतले सरकारको निर्णय बदर गरेपछि फैसलाको स्वागत गरेका पण्डितले आफू पार्टी एकता जोगाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

‘सर्वाेच्चले संसद् पुनस्थापना गर्ने फैसलाको म स्वागत गर्छु,’ पण्डित भन्छन्, ‘हाम्रो पार्टी फुटिसकेको छैन, म अझै पनि पार्टी एक हुनुपर्छ भन्ने अभियानमा छु ।’निर्वाचन आयोगले आधिकारिकता दिएपछि एउटा समूहमा लाग्ने उनले बताए ।

नेकपा विभाजनपछि सबै केन्द्रीय सदस्य खुलेका छन् । कुनै समूहमा नलाग्ने पण्डित एक्लै हुन् ।नेकपा प्रचण्ड–माधव समूह र ओली समूहले उनलाई आफ्नो पक्षमा ल्याउन पहल गरिरहेका छन् । तर उनले अहिले नै कुनै समूहमा नजाने बताए ।

पूर्व एमालेभित्र माधवकुमार नेपालसँग नजिक रहेका पण्डित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपालकै प्यानलबाट मन्त्री बनेका थिए ।