ओलीको राजिनामा नआए प्रतिनिधिसभाको बैठकबाट गलहत्याएर फालिनेछ: पम्फा भुसाल

नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको बैठकबाट गलहत्याउने बताएकी छन्। राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले राष्ट्रपति र प्रधानमन्त्रीसँग अलिकता पनि नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन्।

नैतिकताका आधारमा ओलीको मंगलबार नै राजीनामा आउने आशा गरिए पनि त्यस्तो हुन नसकेको उनले बताइन्। उनले भनिन्, ‘असक्षमहरुसँग अलिकता पनि नैतिकता भन्ने चिज छ, मानवीय स्वाभिमान छ भने, २४ घण्टासम्म पर्खन पर्दैन। तत्काल राजीनामा दिइयोस्। १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्नेछ। त्यहाँबाट गलहत्याएर फालिनेछ।’

बालुवाटारको स्थायी कमिटीबाट प्रधानमन्त्रीको राजीनामा गर्ने निर्णय आउनेमा आशा गरिन्। तर, अझै पनि हारेको प्रतिगामीले उठ्ने प्रयास गरेमा त्यो दिवा सपना हुने उनले बताइन्। राष्ट्रपतिलाई संविधानको रक्षक भनिए पनि उनले त्यो भूमिका खेल्न नसकेको भुसालले बताइन्।

‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो,’ उनले भनिन्। राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो। विजय जुलुसमा सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरिएको थियो।