संसद् विघटन बदर भएपछि वामदेव गौतम सक्रिय भए : ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउछन

नेपाल कम्युष्टि पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक रुपमा बिदा गर्ने वातावरण बनाउन आग्रह गरेका छन्। साथै नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने प्रस्ताव गौतमले राखेका छन्।

नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका गौतमले ओलीको सहज बहिर्गमनको वातावरण बनाउन आग्रह गरेका हुन्। प्रचण्ड र गौतमबीच करिव एक घण्टा कुराकानी भएको छ।

ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्री पदबाट बिदा गरेमा पार्टी एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएका छन्। गौतमको प्रस्तावमा प्रचण्ड पनि सकारात्मक रहेको नेकपाका एक नेताले बताए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन सर्वोच्च अदालतले बदर गरेपछि उपाध्यक्ष गौतम पनि सक्रिय भएका हुन्। गौतमले प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने गौतमको धारणा छ। प्रचण्ड र ओली समूहमा विभाजित नेकपाको एकताका लागि गौतमले पहल गरिरहेका छन्।

उपाध्यक्ष गौतमले बुधबार विज्ञप्ति जारी गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका छन्।