भैरहवामा बन्दैछ ४ अर्ब लगानीमा बोधी होम्स हाउजिङ

 

भैरहवामा बन्दैछ ४ अर्ब लगानीमा बोधी होम्स हाउजिङ, ३ सय घर निर्माण गरिनेकाठमाडौं उपत्यका बाहिर पहिलो पटक विशाल हाउजिङ परियोजना निर्माण सुरु भएको छ । भैरहवामा ४ अर्ब रुपैयाँ लगानी गरेर ३ सय घरहरु भएको ‘बोधी होम्स’ हाउजिङ परियोजना निर्माण सुरु गरिएको हो ।

आधुनिक सुविधा सम्पन्न हाउजिङ परियोजना दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा १०५ घर निर्माण हुनेछन भने दोस्रो चरणमा १९५ घरहरु निर्माण गरिनेछ । हाउजिङ परियोजनाका अध्यक्ष जलेश्वर पाण्डेका अनुसार पहिलो चरणमा बन्ने घरहरु डेढ बर्षभित्र निर्माण सम्पन्न गरिनेछ । दोस्रो चरणका घरहरु एक बर्षपछि निर्माण सुरु गरेर दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो हाउजिङ परियोजना १४ बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।

इमर्जिङ औद्योगिक, व्यवसायिक तथा अवाासिय शहर भैरहवामा निर्माण सुरु गर्न लागिएको बोधी होम्स हाउजिङमा जलेश्वर पाण्डे, दीपक पाण्डे, सांसद प्रमोद यादव, दिनबन्धु पोखरेल, छबिलाल कुँवर, रविन्द्र कुवँरको लगानी रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमालस्थलबाट ३ किलोमिटर पूर्वमा रहने हाउजिङ परियोजनाको केही दिनभित्र बुकिङ खोल्ने तयारी छ । अझै हाउजिङका घरहरुको मूल्य तय भइसकेको छैन ।

यस्ता बन्नेछन घरहरु

यस परियोजनामा निर्माण गरिन लागेका घरहरु १३ धुरदेखि १८ धुर क्षेत्रफलसम्मका हुनेछन् । सबै घरहरु साढे दुई तलाका हुनेछन भने घरहरु बनाउँदा चारवटा विभिन्न डिजाइन आत्मसात् गरिने बताइएको छ ।

हाउजिङमा उपलब्ध हुने सुविधाहरु

यो हाउजिङ परियोजना भैरहवा क्षेत्रको सबैभन्दा ठूलो हुनेछ । हाउजिङ परियोजनाभित्र चौडा सडक, प्रयाप्त खुला ठाउँ, हेल्थ क्लब, स्वीमिङ पुल, रेष्टुरेन्ट, सपिङ सेन्टर, बिबाह, ब्रतबन्ध, भोज, भतेर वा सभा आयोजनाका सुविधासम्पन्न हल पनि निर्माण गरिनेछ ।