माेरङमा ११ वर्षीय बालिकामाथि पटकपटक बलात्कार प्रयास,घटनामा संलग्न फरार

मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको घटना एक सातासम्म ‘गुपचुप’ राखिएको खुलेको छ ।

गाउँकै अगुवा र छरछिमेकीले पीडकसँग मिल्नुपर्ने दबाब दिएर प्रहरी कार्यालयमा जान नदिएपछि बालिकामाथि बलात्कार प्रयास गरिएको घटना सार्वजनिक हुन नसकेको पाइएको हो ।स्रोतका अनुसार पीडित पक्षलाई आर्थिक प्रलोभन देखाएर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब दिइएको थियो ।

त्यही भएर घटना एक सातासम्म सार्वजनिक नभएको प्रहरीले जनाएको छ ।

बालिकामाथि बलात्कार प्रयास भएको जानकारी दिन आएका पीडित पक्षले आज (बिहीबार) घटनामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् । तर प्रहरीमा जाहेरी परिसक्दा घटनामा संलग्न ४५ वर्षीय राजेन्द्र सरवरीया फरार बनिसकेका थिए ।

पीडित परिवारले बालिकामाथि पटक÷पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरीयाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।

जाहेरीअनुसार बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर पहिलो पटक बलात्कारको प्रयास भएको हो ।सोही वडामा रहेको आफ्नै मामाको घरबाट आफू बस्दै आएको मावली हजुरआमाको घरतिर जाने क्रममा सरवरीयाले फकाईफुल्याई बाटैबाट नजिकैको मकै बारीमा लगेर बलात्कार प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसको दुई दिनपछि पनि आफूमाथि सरवरीयाले पुनः बलात्कार प्रयास गरेपछि उनले घटनाका बारेमा अभिभावकलाई जानकारी दिइन् ।

कपडा खोलिदिन थालेपछि आफू भागेर बलात्कृत हुनबाट बचेको जानकारी बालिकाले अभिभावकलाई दिएको प्रहरीले जनाएको छ । त्यसपछि गाउँकै अगुवाले घटनालाई मिलाउने प्रयास गरेको पाइएको प्रहरी स्रोतले बतायो । पीडित पक्षले गाउँमै मिल्नुपर्ने दबाब दिइएका कारण आफूहरू घटना भएका समयमा प्रहरी कार्यालयमा आउन नसकेको पनि बताएका छन् ।

‘गाउँका अगुवाले गाउँमै छलफल गरेर घटनालाई मिलाउने प्रयास गरेछन् । पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव पनि राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पीडितलाई प्रहरीमा नजान विभिन्न धम्की दिने र प्रलोभनमा पार्ने काम भएछ । तर अहिले किटानी जाहेरी परिसक्दा बलात्कार प्रयास गर्ने व्यक्ति फरार  छन् ।’

प्रहरीले घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरूलाई पनि कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ढिलो गरेर जानकारी प्राप्त भए पनि सबै कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।‘घटना एक साताअघिकै रहेछ ।

तर प्रहरीले भने आज मात्रै जानकारी पायो,’ उनले भने, ‘प्रहरी पक्राउका लागि जाँदा घटनामा संलग्न व्यक्ति भागिसकेको पाइयो रहेछन् । सम्भावित स्थानलाई लक्षित गर्दै फरार रहेकाको खोजी तीव्र पारिएको छ ।’

प्रहरीका अनुसार बालिकाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक छ । आमाको पहिल्यै मृत्यु भइसकेको र बुबा पनि लगभग नौ वर्षदेखि बेपत्ता रहेका कारण उनी मावली हजुरआमाकोमा बस्दै आएको खुलेको छ । नौ वर्षदेखि सम्पर्कविहीन बनेका बाबुको अझै पत्तो नलागेको पीडित पक्षले जनाएको छ ।