माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो

सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन। त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधवार नक्सा सार्वजनिक गर्नुभयो । नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको प्रष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनु भयो । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने सुझाव पनि उहाँले दिनुभयो । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर हामीलाई लामा सिता भएका पातलो चामल चाहिन्छ । खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भूजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो त्यही मोटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ एक इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उहाँले प्रतिशतको तुलना अलि नमिलेको बताउनु भयो । कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताउनु भयो