ओली सरकारले नयाँ वर्षमा जनतालाई दिँदैछ धरहरा उपहार

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ, आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’सरकारले एकपछि अर्को नयाँ काम र योजनाको थालनी गरिरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानीलगायत थुप्रै योजनामा सरकारले सफलता पाएको पनि उहाँले बताउनुभयो ।

देशलाई सुरुङमार्गमा लैजानेलगायत धेरै काम सरकारले गरेको उहाँले बताउनुभयो । बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । इतिहास झल्कने र आधुनिकता टल्कने हिसाबले निर्माणका काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले विकासको गतिलाई रोक्न नदिइने प्रतिबद्धता जनाउनुभयो ।

ओली सरकारको कामलाई गुगलले पनि दियो साथ, चुच्चे नक्सा समावेश

विश्वको चर्चित म्याप साइट गुगल म्यापले नेपालको चुच्चे नक्सालाई समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा प्रकाशन गरेको झण्डै १० महिनापछि समावेश गरेको हो ।

गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ । यसको अर्थ विवादित क्षेत्र भनेर चिनिने गरिन्छ । यद्यपी यसअघि भने नेपालको पुरानै नक्सा मात्र राखिएको थियो ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेपनि जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।

केपी बा,‘आई लभ यु’ ले ल्याएको राष्ट्रिय तरंग

नेपालको फुटबल टिमले बंगलादेशविरुद्ध खेल त जित्यो, तर त्योभन्दा बढी चर्चापरिचर्चा रंगशालामा प्रधानमन्त्री केपी ओलीको उपस्थितिले पायो। लामो समय पार्टीभित्र विवाद रहेको पृष्ठभूमिमा प्रचण्डसँग मिलेर आफूविरुद्ध संघर्ष तीव्र बनाएका माधवकुमार नेपाललाई कारबाहीको पत्र लेखेपछि खेल हेर्न रंगशाला पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय टिमलाई बधाई दिँदै थिए। र, स्वतस्फूर्त रूपमा नेपालको फुटबल टिमले ‘केपी बा, ‘आई लभ यु’ भन्ने नारा लगायो। प्रधानमन्त्री ओलीको जानेर वा नजानेर विरोध गरेका समूहलाई यति मात्र मुद्दा बन्यो। केही बौद्धिक भनिने व्यक्तिले सामाजिक सञ्जालमा नै खेलाडीप्रति तिक्तता पोखे।

सर्सर्ति हेर्दा राष्ट्रको प्रधानमन्त्रीलाई यसरी राष्ट्रिय टिमले माया गर्नु वा गरेको देखाउनु कुनै पनि रूपमा असहज होइन। हुन त नेताहरूले विभिन्न यस्ता हत्कण्डा बनाएर जनतालाई झुक्याएर आफू लोकप्रिय भएको देखाउने गर्छन्। मिडियाबाजी र फोटो अप्रेसनका यी तरिका संसारभरि आधुनिक लोकतन्त्रका विकृति बनेर देखिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले पालेको लामो सेतो दाह्रीसमेत बंगालीहरूले कवि गुरु भनेर सम्मान गर्ने रवीन्द्रनाथ टेगोरजस्तै देखिनका लागि हो भन्ने अड्कल छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेतले यस्ता अनेक फोटो अप गरेकै हुन्थे भने बाराक ओबामा पनि बेलाबेलामा शालीन खालका मिडियाबाजी गर्नबाट चुक्दैनथे, चाहे त्यो सर्वसाधारण जस्तै रेस्टुराँमा गएर खाना खाएको देखाएर होस् वा आफ्नो पारिवारिक तस्बिर राखेर होस्। कुनै पनि रेस्टुराँमा गएर ओबामाले किनेको खानाचाहिँ पूरै सुरक्षा चेकजाँच नभई खाँदैनथे, तर मिडियामा अर्कै देखाइन्थ्यो।

नेपालमा प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय फुटबल समूहले यसरी नारा लगाउँदा अप्ठेरो मानिनुको पछाडि अहिलेको राजनीतिक अवस्था र हाम्रो आम जनमानसमा विचार बन्ने प्रक्रियाको ठूलो भूमिका छ। अति ध्रुवीकरण भएको अहिलेको राजनीतिक अवस्थामा कि ओलीका पक्षमा कि ओलीका विरोधमा तीव्र फाटो ल्याउन सक्नु प्रचण्डको नेतृत्वमा भएको लामो राजनीतिक संघर्षको सफलता नै मान्नुपर्छ। ओली पक्षका कुरा सुन्ने हो भने सरकार बनेदेखि नै ओलीको नेतृत्वबाट सरकार र पार्टी फुत्काउने षड्यन्त्र सुरु भएको हो। र, मिडिया, नागरिक समाज तथा पार्टीकै नेताहरू पनि त्यही उद्देश्यका लागि निरन्तर एउटा रणनीतिमातहत प्रयोग गरियो।

यस्तो निक्र्योल एउटा पक्षबाट गरिएको अतिरञ्जना हो कि भनेर प्रश्न गर्ने ठाउँ प्रशस्त छन् र सरकारले काम सोचेअनुसार गर्न नसक्नुको दोष सबै पार्टीभित्रकै विरोधी पक्षलाई दिएर उम्किने बाटोलाई पूर्णतः समर्थन गर्नु पनि जायज हुँदैन। आखिर, ओलीकै नेतृत्वमा सरकार बनाउन आएको जनसमर्थन थियो र त्यसप्रति न्याय गर्ने अभिभारा पनि उनैको हो। कुनै पनि बहानामा त्यो असफलताको दोषबाट उनी उम्कन मिल्दैन। तर, हालै देखिएको स्वतन्त्र भनिने नागरिक समाजमा नाजायज तरिकाबाट ओलीलाई हटाउनु नै स्वतन्त्र नागरिक आन्दोलनको एकमात्र उद्देश्य हो भन्ने आशयबाट प्रेरित वातावरण हेर्दा अहिले हाम्रो समाजमा विचार निर्माण प्रक्रिया एकपक्षीय तथा सजिलै कब्जा गर्न सकिने खालको बनेको छ भन्ने छर्लंग देखिन्छ।

प्रचण्डले संसदीय राजनीतिमा धनको प्रयोग गरेर तथा मिडियालाई प्रभावमा राखेर परिस्थिति नियन्त्रणमा राख्न सकिन्छ भन्ने सोचले प्रेरित रहेको लक्षण देखाउन थालेको धेरै भयो। लोकतन्त्रको लामो इतिहासले देखाएको छ– पैसा र पत्रकारिताको प्रभावले मात्र सधैं सत्तामा नियन्त्रण गर्छु भनेर सोच्नु मुख्र्याईं हो। हो, यी कुराले चुनाव र जनमत दुवै प्रभावित पक्कै हुन्छन् केही हद्सम्म, तर आम जनतामा लोकप्रियताको लहर आउन नेताको चरित्रसँग जनताको आकांक्षाको मेल हुनुपर्छ। जनताको स्थायित्वको चाहना, वाम एकता, भारतविरुद्धको अडानले बनाएको पात्रता तथा समृद्धिको सपना एकै ठाउँमा आउँदा एउटा ठोस परिस्थिति निर्माण भएकाले नै लगभग दुईतिहाइ बहुमत आएको थियो।

यो यथार्थ स्वीकार गर्न नसकेर आफ्नो शक्ति र चातुर्यमा बढी विश्वास गर्ने प्रचण्डको महत्वाकांक्षा प्रेरित राजनीतिक व्यवहारले नै देश दुर्घटनामा पुगेको हो। ओलीमा अनेक कमीकमजोरी होलान्, चतुर राजनीतिकर्मीका हिसाबले उनका अनेक कदम नैतिक हिसाबले जायज मान्न नसकिएला, तर स्वतन्त्र भनिने नागरिक समाज हिजो हत्या र हिंसाका कारकलाई आज लोकतन्त्रको नायक बनाउँदै ओलीलाई खलनायक बनाउन जसरी लागिरहेको देखिन्छः यसबाट प्रस्ट देखिन्छ कि मिडिया एकतर्फी रूपमा प्रभावित गरेर प्रचण्डले आफ्ना पक्षमा माहोल सिर्जना गर्न आंशिक सफलता हासिल गरेका छन्। नागरिक समाजका नाममा कुनै एक पक्षको हतियार बनेर केही अगुवाले आफूलाई स्वतन्त्र भन्ने हकसमेत गुमाइसकेका छन्। यस्तो परिस्थितिमा जब राष्ट्रिय फुटबल समूहले ‘केपी बा, आई लभ यु’ भनेर नारा लगाउँछ, सामाजिक सञ्जालमा ती निर्दोष खेलाडीलाई नै तारो बनाइन्छ।

तर यसरी खेलाडीको स्वतस्फूर्त नारा मात्र होइन समाजमा अहिले देखिएका उदाहरणले पनि स्वतन्त्र नागरिक समाजको अगुवाइ गरेका केही पत्रकार र विश्लेषक हाम्रो वास्तविक नागरिक समाजकै प्रतिनिधित्व गर्नबाट चुकेका छन् भन्ने सिद्ध गरेको छ। प्रा. कृष्ण खनाल वा नारायण वाग्लेले घोषणा गरेको तेस्रो जनआन्दोलनले कुनै आगो समात्ने लक्षण देखिएको छैन, जबकि केही महिनाअघि ‘ई’ नाम गरेका अनशनकारी युवाले स्वतन्त्र रूपमा आह्वान गरेको ‘इनफ इज इनफ’ आन्दोलनले राष्ट्रव्यापी आन्दोलनको रूप लिएको थियो। राजनीति, व्यापार, विचार निर्माण वा नागरिक आन्दोलन हरेक क्षेत्रमा केही सीमित अनुहारले आफ्नो एकछत्र प्रभाव जमाउन खोज्ने, नयाँलाई ठाउँ दिन नखोज्ने, घोषित वा अघोषित सिन्डिकेटबाट गुन्डागर्दी गर्ने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति देखिन्छ। तर हरेक क्षेत्रमा समाजको यथार्थले फरक सन्देश दिएको छ।

अहिलेको तीव्र ध्रुवीकरणको अवस्थामा राजनीतिक पार्टीका सदस्यहरूले मात्र होइनः स्वतन्त्र हुनुपर्ने पत्रकार, सम्पादक तथा नागरिक अगुवाहरूले पनि पात्रता गुमाएका छन्। हुँदाहुँदा डबलीबाटै एक पक्षका नेताहरूलाई उभ्याएर ‘किन ओलीलाई हटाउन एकजुट हुन सक्नुभएन ?’ भन्ने प्रश्न नारायण वाग्ले, कृष्ण खनाल र खगेन्द्र संग्रौला आदिद्वारा निर्देशित कार्यक्रममा उठेको थियो। यसरी ओलीका विरोधमा गरिएको संगठित उद्यमलाई स्वतन्त्र र जायज मान्ने तर खेलाडीले गरेका नाराबाजीलाई प्रायोजित वा अनुचित ठान्ने दोहोरो चरित्र अहिलेको बौद्धिक समाजको वास्तविकता बन्न पुगेको छ।

नेपालको राजनीतिमा ०४६–४७, र ०६२–६३ को समयमा जुन नागरिक अगुवाको प्रभाव थियोः अहिले पनि तिनैले अगाडि सरेर तेस्रो जनआन्दोलन घोषणा गरेका छन्। तर, वर्तमान नेपाली समाज राजनीतिक सुझबुझ र सूचनामा पहुँचका हिसाबले धेरै फरक छ। सँगसँगै, अब समाजमा युवाकेन्द्रित नेतृत्वको माग पनि बढ्दो छ। आजको युवाले प्रश्न गर्न थालेका छन्– ओलीका ठाउँमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर कसरी लोकतन्त्रको रक्षा हुन्छ ? यो प्रश्नको चित्तबुझ्दो उत्तर नहुँदा प्रायोजित, निर्देशित वा स्वतन्त्र नै भए पनि एकपक्षीय आन्दोलनमा युवाको साथ छैन।

आज वर्षौं विचार निर्माणको काम गरेका तथा राष्ट्रिय पत्रिकामार्फत विश्लेषण फ्याँकेका अनुभवी अभियन्ताभन्दा युवा अभियन्ता ‘ई’ किन बढी प्रभावकारी छन् ? यो प्रश्नको उत्तर नेपालको फुटबल टिमको एउटा सानो व्यवहारले दिएको छ। इनफ इज इनफ भन्ने आन्दोलन सामाजिक सञ्जालमा सक्रिय केही युवाको रोषको उपज मात्र थिएन। मुद्दामा केन्द्रित, कुनै व्यक्तिको पक्ष वा विरोध नलिने तथा आम नेपाली जनाकांक्षा बुझेको एउटा परिस्कृत नेतृत्वको परिणाम त्यो आन्दोलन थियो। सायद, अब स्वतन्त्र नागरिक आन्दोलनका वृद्ध नेताहरूले युवाबाट सिक्नुपर्ने बेला भएको छ कि जसरी नारा स्वतस्फूर्त थियो, त्यसरी नै आन्दोलन पनि स्वस्फूर्त हुनुपर्छ।