मधेसकेन्द्रित दलले प्रदेश २ लाई जंगल राज्य बनाउन लागे : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसवादी दलले प्रदेश २ लाई जंगल राज्य बनाउन लागेको आरोप लगाएका छन् ।

जनमत पार्टीको प्रथम महाधिवेशनलाई शनिबार जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा सम्बोधन गर्दै उनले मधेसी जनताको बलिदानीले शासन सत्तामा पुगेका मधेस केन्द्रित दलहरू मधेसमा जंगल राज्य बनाउन लागेको बताएका हुन् ।

वीर मधेसी सहिदहरूको सपना पूरा गर्न तथा जनता राज्य स्थापना गर्न अब हुने निर्वाचनमा जनमत पार्टी बलियो रूपमा प्रस्तुत हुने दाबी गर्दै राउतले भने, ‘जनमत पार्टीका हरेक कार्यकर्ताहरू अहिलेदेखि निर्वाचनको तयारीमा जुट्नुस्, घरघरमा गएर जनतालाई वर्तमान अवस्थाबारे बताउनुस् ।’

सांगठनिक रूपमा आफ्नो पार्टी कमजोर भए पनि जनता राज्य स्थापनाका लागि मनोबल उच्च राखेर अहिलेदेखि नै संगठन विस्तारमा जुट्न उनले निर्देशनसमेत दिए । राउतले भने, ‘हामी सांगठनिक हिसाबले छोटो छौँ । तर, जनताको हामीप्रति आशा र भरोसा छ । परिवर्तनका लागि जनमत पार्टीको विकल्प छैन । त्यसकारण पनि उच्च मनोबलका साथ जनताको बीचमा जानुपर्छ ।’