नेपालको बाटो हुँदै खाडी मुलुक जाने भारतीयहरूका कारण उडानहरू खचाखच

कोभिड–१९ का कारण खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीय नागरिकहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् ।

जसका कारण नेपालबाट हुने उडानहरू खचाखच भरिन थालेका छन् । त्यस्तै, भारतबाट नेपाल आउने उडानमा पनि यात्रुहरूलाई टिकट पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ पछि भारत र नेपालले एक–एक उडान मात्र गर्न पाउने सहमतिअनुसार हवाई यातायात चलिरहेको छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका हुन् । साउदीले नेपालसँग भने सीधा उडानमा रोक लगाएको छैन ।

साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । यात्रु नै नभएपछि उडान बन्द भयो । साउदीको उक्त नियमपछि भारतीयहरू नेपालको बाटो भएर साउदी जान थालेका हुन् । साउदी अरबका होटेललगायत अन्य क्षेत्रमा १५ लाख भारतीयले काम गर्दै आएको अनुमान छ ।

भारतीयहरू नेपाल आएर १४ दिन क्वारेन्टिन बसेर मात्रै साउदी अरबको यात्रामा निस्कने गरेका छन् । जसका कारण नेपालका बसपार्क, सुन्धारा, विमानस्थल क्षेत्र तथा गौशाला क्षेत्रका होटेलहरू भरिभराउ हुन थालेको छ । भारतीयहरूलाई १४ दिन क्वारेन्टिन नेपालमा राखेपछि साउदीले नेपालबाट जाने अनुमति दिएका कारण होटेलमा पाहुनाको संख्या बढेको होटेल व्यवसायी महासंघका अध्यक्ष हीरा शाहले जानकारी दिए । साना होटेल मात्रै नभएर तारे होटेलमा समेत व्यवसाय बढेको उनको भनाइ छ । भारतीयहरूलाई नेपालसम्म ल्याउन नेपाल र भारतका ट्राभल एजेन्सीहरूले सघाइरहेका हुन्छन् ।